काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा दर्ता गराएको छ। हिजै आयोगबाट निस्सा लिएको कांग्रेसले आज बिहान मात्रै ११० जनाको नाम समेटिएको सूची औपचारिक रूपमा बुझाएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितको टोलीले आज बिहान साढे ११ बजेतिर निर्वाचन आयोग पुगेर उम्मेदवार सूची दर्ता गराएको जनाइएको छ। यसपटक कांग्रेसले समानुपातिकतर्फ नयाँ अनुहारलाई प्राथमिकतामा राखेको दाबी गरेको छ।
पार्टीले २०६४ देखि २०७९ सम्म समानुपातिक प्रणालीबाट अवसर पाइसकेकालाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार १४ जना पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिक सूचीमा समेटिएका छन्। यसैगरी, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि समानुपातिक उम्मेदवारका रूपमा सूचीमा परेका छन्।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार समानुपातिक सूचीमा युवा र संगठनमा सक्रिय कार्यकर्तालाई विशेष ध्यान दिइएको छ। सूचीमा ३५ वर्षमुनिका १५ जना उम्मेदवार रहेका छन् भने नेविसंघ, तरुण दललगायत भातृ संगठनबाट खारिएका कार्यकर्तालाई समेत उम्मेदवार बनाइएको छ।
पार्टीले यसपटकको सूचीमार्फत पुस्तान्तरण र समावेशीतालाई सन्देश दिन खोजेको बताइएको छ।

