काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ७ बुँदे सहमतिमा एकता भएको छ। आइतबार बिहान सबेरै भएको उक्त सम्झौताले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको छ।
१३ पुसमा सम्पन्न सहमतिपत्रमा रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिनेछ।
सम्झौतामा पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, पार्टीको झण्डा र चुनाव चिन्ह घण्टी यथावत् रहने स्पष्ट गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकाभित्रै रहने उल्लेख गरिएको छ।
दुवै पक्षले भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै आन्दोलनका क्रममा घाइते तथा सहिद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सहमति अनुसार समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य हासिल गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक तथा सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ ।
बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाइनेछ। यसका लागि युवा अभियन्ता, विज्ञ तथा अनुभवी व्यक्तिहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर जिम्मेवारी दिइने सहमति भएको छ।
सम्झौताअनुसार पार्टीसम्बन्धी आवश्यक सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि आव्हान गरिएको छ।
राजनीतिक वृत्तमा रवि लामिछानेको संगठनात्मक नेतृत्व र बालेन शाहको कार्यकारी छविको संयोजनलाई वैकल्पिक राजनीतिक शक्तिको नयाँ अध्यायको रूपमा हेरिएको छ।

