काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतगणना जारी छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले स्पष्ट अग्रता बनाएका छन् ।
आयोगका अनुसार, अहिलेसम्मको गणनामा अध्यक्षका उम्मेदवार ओलीले १५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत पाएका छन् । प्रारम्भिक चरणमै ओलीको मतान्तर उल्लेख्य देखिएको छ ।
यस्तै, महासचिव पदमा भने रोचक र प्रतिस्पर्धात्मक अवस्था देखिएको छ । प्रारम्भिक मतपरिणामअनुसार शंकर पोखरेलले ११५ मत प्राप्त गर्दा सुरेन्द्र पाण्डेले १०८ मत हासिल गरेका छन् । मतान्तर न्यून रहेकाले महासचिव पदको अन्तिम नतिजा थप गणनापछि मात्र स्पष्ट हुने देखिन्छ ।
मतगणना जारी रहेकाले अन्तिम परिणामले पार्टीको भावी नेतृत्व संरचना र शक्ति सन्तुलन कस्तो बन्छ भन्ने चासो बढ्दै गएको छ ।

