काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोम्पसनबिच आज अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट भएको छ ।
सो अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबिच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो ।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमवाट निजी क्षेत्रको मनोबल माथि उठाउनु रहेको बताए ।
अमेरिकी राजदूतले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना तथा सहानुभूति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गरे । अमेरिकी राजदूतले एमसीसीको सहयोगमा संचालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताए ।
अर्थमन्त्री खनालले उक्त परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फवाट गर्नुपर्ने कार्यहरूमा ढिलाइ नहुने विश्वास दिलाए । सो अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको तर्फबाट हुँदै आइरहेको निरन्तर सहयोगको उच्च सराहना गरेका छन् ।

