कञ्चनपुरमा सरकारी सेवा ठप्प

कञ्चनपुर । ‘जेनजी पुस्ता’को आन्दोलनले कञ्चनपुरका अधिकांश स्थानीय तहमा सेवाप्रवाह ठप्प बनेको छ। आन्दोलनकारीले ३० भन्दा बढी सरकारी कार्यालयमा आगजनी र तोडफोड गर्दा कम्प्युटर, कागजात, फर्निचर र भवनसमेत नष्ट भएका कारण तत्काल सेवा दिन असम्भव भएको अधिकारीहरूले बताएका छन्।

कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार वडा र पालिका कार्यालयमा रहेका अधिकांश कागजात र सामग्री नष्ट भएकाले क्षतिको विवरण संकलन र सरसफाइमै ध्यान केन्द्रित गरिएको छ। “कतिपय शाखामा अलिकति मात्र सामग्री बाँकी छ, सेवा पुनःसञ्चालन गर्न केही दिन लाग्छ,” उनले बताए।

शुक्लाफाँटा नगरपालिकाको मुख्य कार्यालयसँगै वडा नं १ देखि १२ सम्मका कार्यालय पूर्ण रूपमा ध्वस्त भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिए। त्यस्तै, दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले कार्यालयमा तोडफोड भएपछि कर्मचारी त्रसित रहेको र सेवा कसरी सञ्चालन गर्ने भन्ने अन्योल रहेको बताए।

जिल्ला प्रशासन कार्यालयसमेत सुरक्षित छैन। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार आगजनीका कारण विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको छ।

सम्बन्धित समाचार

ताजा समाचार