कांग्रेसले देशसँग माफी माग्दै सबैलाई जोड्ने पहल गर्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २३ र २४ भदौका अकल्पनीय घटनाले मुलुक र समाजलाई गम्भीर घाउ दिएको बताएका छन् । उनले कांग्रेस सरकारमा रहे पनि आफू व्यक्तिगत रूपमा सरकारमा नरहेकाले पनि घटनाले पार्टीको अनुहारमा दाग लागेको स्वीकार गर्दै, यो दाग ऐना पुछेर मेटिँदैन, कांग्रेस पार्टीले देशसँग माफी माग्नुपर्ने भिडियो सन्देश मार्फत बताएका छन् ।

उनले सम्पदा, कार्यालय, कलकारखाना र निजी सम्पत्तिमा भएको क्षतिको अहिले पूर्ण आकलन गर्न नसकिने अवस्था रहेको बताए । सभापतिदेखि सयौं साथीहरू भौतिक आक्रमणमा परेका छन्, घर–घरमा छानीछानी आगजनी र तोडफोड भएको छ, उनले भने ।

महामन्त्री थापाले स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्ने तर नियतवश भएको अमानवीय र क्रुर घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनका अनुसार घर–भवन मात्र जलाइएका छैनन्, धेरै नेपालीको मनसमेत फाटेको छ, जसलाई जोड्ने र पुनर्निर्माण गर्ने जिम्मेवारी काँग्रेसले लिनुपर्नेछ ।

उनले आन्दोलनकारीले अघि सारेको मागलाई सम्बोधन नगरी देश अघि बढ्न नसक्ने स्पष्ट पार्दै भने, आन्दोलनकारीको रोजाइअनुसारको नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेस तयार छ र आवश्यक वातावरण बनाउन पनि लागिपरेको छ । सम्भवतस् आज साँझसम्म अन्तरिम सरकारबारे टुंगो लाग्न सक्छ ।

थापाले काँग्रेस राष्ट्रिय शक्ति भएकाले उत्तेजना फैलाउने होइन, मिलन र संवादको बाटो समात्नुपर्नेमा जोड दिए । उनले आन्दोलनकारीसहित सबै पक्षसँग संवादको प्रयास भइरहेको उल्लेख गर्दै राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग निरन्तर संवाद भइरहेको बताए।

उनका अनुसार बन्ने अन्तरिम सरकारले निर्वाचन गराउने, हालका घटनाको छानबिन गर्ने तथा खर्बौंको क्षति भएको पुनर्निर्माणको नेतृत्व गर्ने जिम्मेवारी लिनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार