हिजो भाद्र २३ गते सोमबार , २०८२ साल जेन जीको भ्रष्टाचार बिरुद्को प्रदर्शनमा भर्खर स्कुल कलेजका छात्र छात्राहरुको यो समुहले के गर्दछन हेरौ बुझौ भन्ने कौतुहलताले माईतिघर पुगियो । जेन जीको व्यापक सहभागिता देखियो । अनि बिभिन्न घटाका बिशिष्ट व्यक्तिहरुको समर्थन भएबाट नेपालको मुहार फेर्नका लागी युवा जोश र जागर सह्रानिय थियो । स्कुलका छात्र छात्राहरु स्कुलकै पोशाकमा नारा जुलुशमा सहभागी थिए ।
बिरोध सहन नसक्न,े अर्काको सुन्नै नहुन,े भनाई नपच्ने , आडम्बरी व्यक्तित्वहरु जव सत्तामा पुग्दछन तब सोच्नै नसक्ने अवस्थाहरुको सिर्जना भएको पाईन्छ । बिरोध प्रदर्शन शुरु भएको केही बेरमै स्कुले छात्रछात्राले स्कुलकै पोषाकमा गोली खाएर सडकमा ढलेको समाचार आउन थाल्यो । एक दुई तिन गर्दै मृतकको संख्या बढ्दै गएर १९ पुगे । काठमाण्डौमा मात्र नभई यसरी सदाहत हुनेहरु पुर्वको ईटहरी र पश्चिमको नारायणघाट र पोखरा सम्म पाईए । बिरोध खप्न नसक्ने जालसाजी , आडम्बरी , दम्भी,भ्रष्टाचारी र दुराचारी नेताले जनताकै पैसाले किनेको गोली ताकी ताकी जनताकै शिरमा दागेर आफ्नो कायरताको प्रदर्शन गरेका छन् । त्यति मात्र नभएर घर घर छिरी छिरी अनि अस्पतालमा समेत गएर धर पकड र कटपिट गरेको समाचार पाईएको छ ।
नेपालको ईतिहास नै यस्तै छ । असल मान्छे नजन्मेकै हुन वा असल मान्छे हुन नदिएका हुन ? जे भएपनि असल मान्छे र असल अगुवाको नितान्त आवश्यक छ । जनताले आन्दोलन गर्दछन, प्रजातन्त्र ल्याउछन अनि एउटा अर्को मौका परस्त, स्वार्थी , धोकेवाज र दुराचारी शासनको बागडोर सम्हाल्न पुग्दछ । केही शासन गर्दछन् फेरी झर्दछन । यस्तै प्रजातान्त्रीक अभ्यासको चक्र छ यहाँ । शहिद गंगालाल धर्मभक्तहरुले माथीबाट हामीले ज्यान गुमाएर ल्याएको प्रजातन्त्र तिमीहरु जोगाउन पनि सकेनौ भनेर नेपालीहरुलाई गाली गरीरहेको झै लाग्छ । राणाले अतिसय गरे आन्दोलन भयो शहिद भए , राणा सकिए , राजा आए । राजासँग जनताले हक मागे नयाँ संविधान आयो , संसदिय व्यवस्थाको शुरुवात भयो । त्यसवेलाको अगुवा बिपि र मनमोहनका प्रयासले त्यो संसदीय व्यवस्था जोगाउन सकेन । राजदण्डको हतियार प्रयोग गरी राजा महेन्द्रले नेताहरुलाई खोरमा जान बाध्य बनाए । अनि निर्दलिय पन्चायती व्यवस्थाको शुरुवात गरे । २०३६ सालमा त्यतिबेलाका हालका जेन जीकै उमेरका बिधार्थी समुहको अगुवाईमा बृहत्त परिवर्तनको लागी आन्दोलन भयो । राजाले जनमत संग्रहको घोषणा गरे अनि संसोधित पन्चायति व्यवस्था शुरु भयो । संसोधित पन्चायति व्यवस्था पनि धेरै दिन टिक्न सकेन । ककसले के के गरे त्यसको धेरै लामो फेहरिस्त होला तर देशको हितमा र जनताका पक्षमा गरिने कामहरु न्युन थिए । प्रचण्ड बाबुरामहरुले बन्दुक उठाए । को को सज्जन मरे ? को को दुर्जन मरे ? यकिन गर्न सकिन तर १७ हजारको रगत पिएपछी जनवादी नेता सत्तामा पुगे । एउटा राजा मारिए कसले मार्यो थाहा छैन् । एउटा राजालाई खेदे । श्रीपेच बोकेर आएका राजा मरे पनि भागे पनि अबको परिस्थतीमा देशमा टोलै पिच्छे राजा जन्मिएका छन् । टोलै पिच्छेको साम्राज्य छ , देशलाई भान्छेले खाना बाडेजस्तो गरेर आफ्ना आसेपासे , झोलेहरुलाई बितरण गर्दै टुक्रा टुक्रा गरेको देखिन्छ । कानुनलाई बिध्वंशताको पराकाष्टा सम्म पुर्याएर जसले जहाँ जसरी पनि भ्रष्टाचार गर्ने प्रावधानको सुचि झै बनाएको छ । आफ्ना आसे पासेलाई पद र सम्पत्ती पुर्याउने होड चलेको छ ।
राष्ट्र र राष्ट्रियता धरासायि भयो, राष्ट्रगान बदल्ने रिठ्ठेहरुले राष्ट्रप्रेम जगाउन सकेनन्,राष्ट्रको एकिकरण गर्ने पृथ्वीनारायण शाहको मुर्ति ढाल्ने सैतानहरुले देशलाई टुक्रा टुक्रमा बिभाजन गर्नथाले । जीवन धान्न बिदेश जाने युवाहरुको लर्को देखिन्छ , देशमा भएका कलकारखनाहरु मरुभुमि तुल्य भएका छन् । स्वदेशिएका विदेशीहरुको हातमा देशको औधोगिक तन्त्रको नियन्त्रण छ । बाटा घाटा हिडीनसक्ना छन , औषधि उपचारको नाउमा एउटै रोगको उपचारले मान्छे कंगाल हुन्छन , छोरा छोरीले १२ पास गरिसक्दा बाबु आमाको ढुकुटी निथारिन्छ । चिल्ला कारमा साईरन बजाएर घमण्डका साथ भ्रमण गर्ने नेता र नेताका परिवारहरु आफैलाई नेपालको पहिचान स्वरुप बनाएर बिश्व भरी देश बिकासको धक्कु लगाउन उद्यत छन् । यस्तो अन्धाधुन्ध व्यवस्था चरम अराजकतामा जनताले असन्तोष व्यक्त गर्न पाउने अधिकार सम्म दिन नसक्ने नेपालको संविधान हो भने यस्तो संविधान र यस्तो संविधान बनाउने संविधान भवन जनताको अक्रोशले जल्छ भने त्यो कुनै नयाँ कुरा हुन सक्दैन ।
बारम्बार भएको आन्दोलनले परिवर्तन ल्याएकै छ , अझ जव युवा पुस्ता भिडेका छन परिवर्तन अबस्यमभाबी भएको हाम्रो देशको ईतिहास छ । सम्झना आउछ कोत पर्वको, जंगबहादुरले कोतमा लगेर सबै शत्रुलाई एकै ठाउँमा राखेर सखाप पारेको घटनालाई धेरैले आलोचना गरेपनि मलाई त्यहाँ एउटा उत्तम शिक्षा रहेको आभास हुन्छ । शत्रु भन्ने जानेपछी सबैलाई एकमुष्ठै सखाप पानर्’ पर्ने रहेछ । आजको आन्दोलन हात हतियार बिनाको थियो , लठ्ठी हानेर भगाउन सकिने स्कुले जमात थियो । तर लाछी डरपोक शासकले आफ्नो पाप लुकाउन यस्ता निरिह बालकहरुलाई पनि गोली हानेर मार्ने पाप गर्यो । यो पापको प्रयाश्चित गर्न तयार छन कि छैनन् यि आडम्बरीहरु ? त्यो छुट्टै प्रश्न छ । तर अब यहि जमातले हतियार बोकेर आयो भने एउटा अर्को केतपर्व हुने सम्भावना छ । यसमा आजका ठुले , साने, भरौटे झोले सबै एकमुष्ट सखाप हुन्छन् । अनि हामि पनि आरामको निन्द्रा सुतौला । अहिले त देश नै घायल छ, हामिलाई निन्द्रा के लागोस् ?

