काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औँ वार्षिकोत्सव समारोहलाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले अहिले सामुदायिक विद्यालयमा बसाईंसराई लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको बताए । विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको पनि उनले बताए ।
राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरू रोजेर पढ्न सक्ने बताए । अध्ययनका लागि विदेश जानेहरूलाई रोक्न नसकिने पनि स्पष्ट पारे ।
उपप्रधानमन्त्री सिंहले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्वलाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिए ।

