महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न आग्रह गरेका छन् ।

मंगलवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले महिला फुटबल टिमका प्रशिक्षकले असन्तुष्टि जनाएको बारेमा ध्यान दिन जरुरी रहेको बताएका हुन् । महिला फुटबलले हालका खेलहरुमा राम्रो प्रदर्शन गरेको बताए । प्रशिक्षणका लागि आएका अन्तर्राष्ट्रिय प्रशिक्षकहरुले असन्तुष्टि जनाउनुले नेपाललाई असर पर्ने भन्दै त्यसमा ख्याल गर्न जरुरी रहेको बताएका हुन् । स्वस्थ र असल नागरिक उत्पादन गर्न खेलकुदको भुमिका महत्वपूर्ण रहेको बताए । उनले खेलले अनुशासित नागरिक उत्पादन गर्ने बताए । खेल क्षेत्रले विदेशमा काम गर्न जानेहरुको लर्कोलाई स्वदेशमै भविष्य खोज्न सकिन्छ भन्नेकुरा स्थापित गर्न जरुरी रहेको छ ।

उपप्रधानमन्त्री सिंहले भने, ‘खेलकुद जगतलाई खेलाडीदेखि लिएर कोचहरुदेखि लिएर सबैलाई तपाईंहरुले अत्यन्तै प्रतिकुल अवस्थामा पनि अग्रसरताको कारणले नेपाललाई अघि बढाइराख्नुभएको छ । महिलाहरुको फुटबलले पनि रिसेन्ट्ली राम्रै गरेको छ । तर त्यहाँ कोचले डिसस्याटिस्फ्याक्सन जुन जनाएको छ, यस स्पोर्ट्समा । यसमा ध्यान दिनुछ । इन्टरनेशनलबाट कोच गर्न आएकाहरुको असन्तुष्टि भयो भने त्यसले हामीलाई असर गर्नसक्छ । त्यसमा ख्याल गर्नुपर्छ । स्वस्थ र असल नागरिक उत्पादन गर्न खेलकुद जगतले राम्रो काम गरेको छ । अनुशासित नागरिक उत्पादन गर्न खेलकुद जगतले धेरै ठूलो योगदान गरिरहेको छ । विदेशमा जाने लर्को लागिरहेको छ, कामको खोजिमा । काम यहीँ गर्दा हुन्छ भन्ने वातावरण बनाउन जरुरी छ ।’

एएफसी वुमेन्स एशियन कप छनोट २०२५ मा उज्वेकिस्तानसँग पराजित नेपाली टोली स्वदेश फर्किसकेको छ । तर बेल्जियमका युईएफए प्रो लाइसेन्स प्रशिक्षक डे वाइल्डले एन्फा नसुध्रिए आफू नफर्किने चेतावनी दिइसकेको छ । खेलाडीका लागि राम्रो होटल व्यवस्थापनसम्म हुन नसकेको उनको आरोप छ । एन्फालाई योजनामा भन्दा राजनीतिमा बढी रूचि रहेको भन्दै एन्फाको आलोचना गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार