कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएका बजेटसम्बन्धी विधेयकहरू बुधबार प्रदेश सभाको बैठकबाट पारित भएका छन्। तर हरेक वर्षको बजेटमा सांसद र मन्त्रीहरूद्वारा बजेट तथा योजनामा हुने गरेको हारालुछका कारण सरकारले यथार्थ आम्दानी नाघेर बजेटको आकार बढाउने गरेको छ। बजेट निर्माणका बेला सांसदहरू आ-आफ्ना योजना पार्न दौडधुप गर्ने परम्परा नै बनेको छ।
आगामी वर्षको बजेटमाथिको छलफल चार दिन चल्यो। छलफलका क्रममा सत्तारुढ र विपक्षी दलका अधिकांश सांसदहरूले बजेट र मन्त्रीहरूको चर्को आलोचना गरेका थिए। बोल्ने दुवै पक्षका अधिकांश सांसदहरूले बजेट तथा योजनामा अनियमितता भएको भन्दै छानबिनको समेत माग गरे ।
तर उनीहरूको त्यो माग केवल प्रदेश सभाको रोष्टममा बोल्दै गर्दाको फगत भाषण जस्तो मात्रै भयो। अन्ततः सबै एक ढिक्का भएर बजेट सर्वसम्मतिले पारित गरेका छन्। यसपालि त सांसदहरूका लागि सरकारले विशेष बजेटको भाग नै लगाएको थियो । त्यसैले पारित गर्ने बेला सत्ता र प्रतिपक्ष एक ढिक्का भएर पारित गरे ।
त्यति मात्रै होइन, छलफलका क्रममा खरो आलोचना गरेका अधिकांश सांसदहरूसमेत पनि बजेट पारित भएको सन्दर्भमा प्रदेश सरकारले धनगढीस्थित एउटा पार्टी प्यालेसमा आयोजना गरेको सामूहिक भोजमा पनि सहभागी भए ।
आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिमले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट पारित गरेको हो । जस अन्तर्गत पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार अर्थात् ५९.२५ प्रतिशत छ भने चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात् ३०.४९ प्रतिशत विनियोजित छ ।

