सुदूरपश्चिम । भारत उत्तराखण्डको रुद्रपुर र काशीपुरबाट उद्धार गरी ल्याइएकालाई घर पठाइएको छ । उद्धार गरिएकालाई बुधबार कञ्चनपुरको गड्डाचौकी नाका हुदै नेपाल भित्र्याइएकालाई घर पठाइएको हो ।
बिहीबार उनीहरूलाई यहाँका विभिन्न यातायात कम्पनीको सहयोगमा सम्बन्धित जिल्लातर्फ पठाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । उनका अनुसार उद्धार गरी ल्याइएका सबैलाई एउटै सवारी साधनमा नभई सम्बन्धित रुटमा चल्ने बसहरूमा पठाइएको हो ।
‘चार जनाले काठमाडौं जाने भनेपछि उनीहरुलाई त्यहीँ पठाइयो, अन्य सबैलाई घरतर्फ पठाइएको छ,’ उनले भने, ‘यसमा यातायात कम्पनीहरूले पनि सहयोग गरेका छन् ।’ ‘किन इन्डिया’ र दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा बुधबार उनीहरू महेन्द्रनगर आइपुगेका थिए ।
आकर्षक काम र पारिश्रमिक दिने प्रलोभन देखाएर रुद्रपुर र काशीपुर बोलाएर जनही २३ हजार भारु समेत जम्मा गर्न लगाएर बन्धक बनाइएका ५७ जनालाई उद्धार गरिएको हो ।

