मनसुन सुरक्षाका लागि सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको आग्रह

काठमाडौं । मनसुन प्रणाली देशभर फैलिन थालेसँगै संभावित बाढी, पहिरो र डुवानबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन सबै निकायहरूलाई अनुरोध गरेको छ।

जेठ १५ गतेदेखि मनसुन प्रवेश गरेको र पूर्वी नेपाल हुँदै देशभर फैलिन थालेको मौसम विज्ञान विभागले जनाएको छ। यसै सन्दर्भमा प्राधिकरणको नेतृत्वमा २३ वटा सम्बन्धित मन्त्रालय र निकायहरुको प्रतिनिधित्व रहेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्यसमितिको बैठक बसेको थियो।

बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहका सरकारी निकायहरू, सुरक्षा निकायहरू तथा सरोकारवालाहरुलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ। विशेष गरी मनसुनका बेला उच्च जोखिममा पर्ने क्षेत्रहरूको पहिचान गरी सचेतना तथा उद्धारका लागि तयारी अवस्थामा रहन भनिएको छ।

गत वर्षको मनसुनमा देशभर करिब ५ लाख १५ हजार मानिस प्रभावित भएका थिए भने १५७ जनाको ज्यान गएको थियो। यसै पृष्ठभूमिमा यो वर्ष अझ सशक्त तयारीका लागि समितिले आग्रह गरेको हो।

प्राधिकरणले ३० दिने, ६० दिने र ९० दिने कार्ययोजना बनाएर सोही आधारमा कार्यान्वयन गर्ने जनाएको छ। साथै, सम्भावित पूर्वी मनसुन छुट्टिने, बाढी तथा डुवानबारे मौसम पूर्वानुमानको आधारमा समयमै सूचनाको आदानप्रदान र चेतावनी प्रणालीलाई सुदृढ गर्न पनि जोड दिएको छ।

सूचना प्राधिकरणका उपसचिव राम सुवेदीले हस्ताक्षर गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार