१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

काठमाडौं । १५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बुधवार एक भव्य समारोहकाबीच औपचारिक रूपमा शुरू भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार विभिन्न कार्यक्रमसहित एक भव्य समारोहबीच तीन दिनसम्म चल्ने राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले जुडोकी ओलम्पियन देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै औपचारिक रूपमा राष्ट्रपति रनिङ शिल्डको १५औं संस्करणको उद्घाटन गर्नुभएको थियो । त्यसपछि ओलम्पियन देवु, भारोत्तोलनका ओलम्पियन कमलबहादुर अधिकारी र सरस्वती चौधरीलगायत ओलम्पियनले ओलम्पिक टर्च ¥याली गराएका थिए ।

उद्घाटनको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदको माध्यमबाट एक असल नागरिक बनाउन मद्दत गर्ने बताए । खेलाडी उत्पादनको राम्रो माध्यम नै विद्यालय तहबाट खेलाडी छनोट रहेकाले यो प्रतियोगिता धेरै महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको भनाइ छ । पौडेलले साहसिक खेलकुदका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेकाले राज्यले यसमा लगानी बढाउनु पर्ने धारणा राखे ।

उद्घाटनको अवसरमा सातै प्रदेशका खेलाडी र प्रशिक्षकका साथै निर्णायक, विभिन्न भेषभुषा, कला र संस्कृति झल्कने किसिमका पहिरनसँगै मार्च मास्ट, आतिसबाजी, डेमोन्सट्रेसन र सांस्कृतिक नृत्य प्रश्तुत गरिएको थियो । सो अवसरमा सुदूरपश्चिम प्रदेशकी कबड्डी खेलाडी श्रृष्टि केसीले सम्पूर्ण खेलाडीको तर्फबाट र करातेका रेफ्री प्रकाशमोहन धौबडेलले रेफ्रीको तर्फबाट सपथ लिएका थिए ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रपति खेलकुद विद्यालय तहबाट नै खेलाडीलाई प्रोत्साहित गर्ने महत्वपूर्ण माध्यम रहेको बताए । उनले आगामी दिनमा यो खेलकुद प्रतियोगितालाई अझ परिस्कृत रूपमा विकास गरेर आयोजना गरिने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गणतन्त्र नेपालको स्थापनापछि सात सय ५३ वटै स्थानीय तहबाट खेलाडी छनोट गरेर प्रतिभावान खेलाडी उत्पादनको माध्यम राष्ट्रपति रनिङ शिल्डको सुरूआत भएको बताउनु भयो । देशको ७५३ स्थानीय निकायबाट खेलाडी छनोट गरेर जिल्ला र प्रदेश हुँदै केन्द्रिय स्तरको प्रतियोगिता गरिँदै आएको छ । तर यसपल्ट सरकारले यो प्रतियोगिताको बजेटमा कटौतीका साथै स्थानीय तह, जिल्ला र प्रदेश छनोटका लागि बजेट नछुट्याएकाले सबै स्थानीय तहबाट खेलाडी छनोट पाएन ।

बजेट अभाव कारण कोसी प्रदेशका तीन जिल्ला छनोट नै हुन सकेन । यस प्रतियोगिताको एक करोड ७५ लाख बजेटमा सरकारले २५ प्रतिशत कटौती गरेको थियो । यो बजेटमा स्थानीय तह, जिल्ला र प्रदेशको छनोट लागि रकम छुट्याइएको थिएन । जसको कारण नेपाली खेलकुद विकास र राष्ट्रिय टोली निर्माणका लागि मेरुदण्ड मानिएको राष्ट्रपति रनिङ शिल्डको छनोट तल्लो तहबाट नै प्रभावकारी हुन सकेन ।

सात प्रदेशबाट कुल ६ खेल विधामा खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । यस पल्ट १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ काँस्य गरी दुई सय ३० पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित समाचार

ताजा समाचार