प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै घर फर्कन आग्रह गरेका छन्।
सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान र मुलुकको अर्थतन्त्रको आधारमा गर्न सकिने काम गर्न सरकार तयार रहेको बताए। उनले शिक्षकका प्रतिनिधिहरुलाई वार्तामा आउनसमेत आह्वान गरे।
उनले वर्तमान सरकार दमनकारी नरहेको उल्लेख गर्दै गर्न सकिने कामको लागि आन्दोलन गरिरहनु नपर्ने बताए। उनले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ५२ प्रतिशत फेल गराएर उनीहरुको भविष्यमा तरबार चलाइएको भन्दै यस सम्बन्धमा गम्भीर भएर सोच्नसमेत शिक्षकहरुलाई आग्रह गरे।
उनले भने, उहाँहरुले ऐन लिएर जान्छौं भन्नुभएको छ । एउटा ऐन बोक्न यत्रोबिघ्न मान्छे चाहिन्छ ? ऐन त संसदीय उपसमितिमा छलफल भइरहेको छ । समितिमा आउँछ । त्यसपछि मुल हाउसमा आएर संसदबाट पारित हुन्छ । अहिलेसम्म जतिपनि ऐन आएका छन् सडकमा मान्छे आएरै आएका हुन् ? त्यसै आउने ऐनलाई हामीले ऐन ल्यायौं भन्ने पार्नको लागि यत्रो दुःख किन गर्नुपर्यो ? तपाईहरु हुनुहुन्छ र त ऐन बन्ने हो नि । तपाईहरु नभए ऐन कसरि बन्छ । त्यसकारण हामीले ऐन ल्यायौं भन्नको लागि यत्रो दुःख गर्नुपर्दैन ? म अहिले पनि उहाँहरुलाई आग्रह गर्न चाहान्छु, अहिले विद्यार्थी भर्नाको समय छ । कृपया जानुस् भर्ना गर्नुस् । एसईईमा ५२ प्रतिशत फेल हुने भनेको त कलिलैमा उहाँहरुको भविष्यमाथि तरबार चलाइएजस्तो भयो नि । अब एसईईको औचित्य पनि देखिइरहेको छैन । कक्षा १२ लाई एसएलसी भनेपनि फेरि एसईई भनेर किन राख्या ? ’

