योग र नैतिकता प्रवर्द्धन गर्ने योगदानकर्ताहरूलाई राष्ट्रिय सम्मान

सर्बोदय सेवाश्रमको आयोजनामा राष्ट्रपति भवनमा सम्पन्न “नरकान्त योग राष्ट्रिय पुरस्कार” र “भैरव सदाचार पुरस्कार” समर्पण कार्यक्रममा नेपाली समाजमा योग र सदाचारको महत्वलाई उजागर गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई “नरकान्त योग राष्ट्रिय पुरस्कार” तथा पूर्व मन्त्रिपरिषद् अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई “भैरव सदाचार पुरस्कार” प्रदान गरिएको थियो।

“नरकान्त योग राष्ट्रिय पुरस्कार” योग क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिन्छ, जसले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै, “भैरव सदाचार पुरस्कार” समाजमा नैतिकता, इमानदारी, र सदाचारको प्रवर्द्धन गर्ने व्यक्तिलाई सम्मानित गर्न समर्पित छ। पुरस्कारको राशी प्रत्येकलाई १ लाख रुपैयाँ रहेको छ।

कार्यक्रममा राष्ट्रपति पौडेलसँगै पूर्व मन्त्री, पूर्व मुख्य सचिव विमल कोइराला, पूर्व सचिव, पूर्व राजदूत, राष्ट्रसेवक, वरिष्ठ साहित्यकार, स्व. नरकान्त अधिकारी र स्व. भैरव प्रसाद उपाध्यायका परिवारजन, योग क्षेत्रका साधक तथा सर्बोदय सेवाश्रमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सम्मानित व्यक्तित्वहरूले आफ्ना अनुभव तथा योगदानबारे बोलेका थिए, जसले उपस्थित सबैलाई प्रेरित गरेको थियो।

राष्ट्रपति पौडेलले पुरस्कार प्राप्तकर्तालाई बधाई दिँदै पुरस्कार स्थापना तथा व्यवस्थापनमा योगदान गर्ने संस्थालाई धन्यवाद ज्ञापन गरे। उनले नेपाली समाजमा योग र सदाचारको महत्वलाई पुनःस्थापित गर्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, आगामी पुस्तालाई पनि यी मूल्यहरू आत्मसात् गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रम सर्बोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष सुकदेव रिसालले दिएका थिए भने संस्थाको परिचय तथा सम्मानित व्यक्तित्वहरूको जीवनी इन्दिरा तिवारीले प्रस्तुत गरिन। कार्यक्रम सञ्चालन मणि लोहनीले गरेका थिए।

सर्बोदय सेवाश्रम लमजुङको राइनास-८, हर्राबोट धर्मनाथमा अवस्थित छ। संस्थाले योग शिक्षा, छात्रवृत्ति, स्वास्थ्य सचेतना, सामाजिक जागरण, प्रकृति संरक्षण तथा मानव सेवा अन्तर्गत ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार