“म धोती”

“म धोती” शब्द नै पवित्र र पवित्रताको प्रतीक, सत्-कर्म, संस्कार, सभ्यताको प्रतीक, शुद्धता, सौम्यता, अध्यात्मको प्रतीक, निष्ठा, समर्पण, त्यागको प्रतीक ।। इज्जत, सम्मान, महानताको प्रतीक, सकारात्मक उर्जाको अलौकिक संचारको प्रतीक, कु-दृष्टि बाट बचने रक्षाकबछको प्रतीक, सुन्दरता र अनुशासनको प्रतीक ।।

“धोती” शब्दलाई नै घृणाको रुपमा प्रयोग गर्ने, निकृष्ट अमानवीय असंवेदनशिल नश्लिय चिन्तन र व्यवहार प्रदर्सन गर्ने, होच्याउन र अपहेल्ना गर्न प्रयोग गर्ने जमातले आफ्नै घर-परिवारमा “धोती” बिनाको परिवारिक सदस्यहरुको कल्पना गरौं त । हेक्का रहोस्, हाम्री आमा, बहिनी तथा परिवारका महिला सदस्यहरुले प्रयोग गर्ने वस्त्रलाई पनि नेपालीमा “धोती” नै भनिन्छ । “साडी” त पश्चिमाहरुले प्रयोग गर्ने शब्द हो ।

कुनै पनि वैदिक – दैवीक अनुष्ठान, पुजा-पाठ-यज्ञ, पितृमोक्षको कर्म, कर्मकाण्ड होस या दाम्पत्य जीवनको प्रारम्भ (विवाह) नै गर्दा प्रयोग हुने पवित्र वस्त्र “धोती” नै हो । विवाहमा सुट पेन्ट लगाउने चलन त पश्चिमाहरुले हाम्रो संस्कार संस्कृति रितिरिवाज माथी आक्रमण गर्दै अतिक्रमण गरेर आधुनिकताको नाममा लादेको कु-संस्कृति हो । म त आफुलाई गर्व महसुस गर्छु कि म जुन समाज, भूगोलबाट प्रतिनिधित्व गर्दछु त्यो समाजमा अहिले पनि “धोती” को उच्च-सम्मान छ । मेरो समाजमा संस्कार, संस्कृति, रितिरिवाज, मौलिकता अहिले पनि जीउँदो छ ।

नेपाल, नेपालीत्त्व र नेपालीपना त वास्तवमा हामी “धोती” ले पो धानेर, बचाएर, संरक्षण, संवर्धन गरेर राखेका रहेछौं । त्यसैले मलाई त गर्व छ, “धोती” हुनुमा । किनभने नि-वस्त्र हुनु मेरो संस्कार, संस्कृति, मौलिकता होइन है । मेरो त मान, सम्मान, सान र पहिचान नै, “धोती, कुर्ता, गम्छा, पाग” हो तर यसको मतलब यो बिल्कुलै होइन कि दाउरा, सुरुवाल र पाल्पाले टोपी मेरो पहिचान होइन वा यसलाई म माया गर्दिन । यदि म सनातनी हो र म वेद र अध्यात्मलाई अंगिकार गर्छु भने “धोती” बिनाको “सनातन सभ्यताको” कल्पना गर्नै सकिदैन ।

यदि म आफुलाई “नेपाली” हुनुमा गर्व गर्छु भने मलाई “धोती” हुनुमा पनि गर्व गर्न सक्नुपर्छ । “नेपालीत्त्व” भनेको नै “धोती” हो । “धोती” बिनाको “वैदिक सनातन राष्ट्र नेपाल” को कल्पना कसरी गर्नसकिन्छ र ? यदी हामी हाम्रो लुटिएको राष्ट्रिय पहिचान र संस्कार, संस्कृति, मौलिकताको संरक्षण संवर्धन प्रवर्द्धनको कुरा गरिरहेका छौं भने सबभन्दा पहिला “धोती” लाई बोली, व्यवहार र आचरण मै सम्मान गर्न सिकौं ।

“खोखला राष्ट्रवाद र खुन्खार राष्ट्रवाद” प्रदर्शन गर्ने नाममा आफ्नै मौलिकता, संस्कृति, संस्कार, पहिचान माथी धावा बोल्ने कु-कृत्य बन्द गरौं । नभए निकट भविष्यमा निकै ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ र हाम्रो भावी सन्ततिले श्राप्ने छन । चेतना भया ।।

  • डा. मनोज कुमार झा (डा. मनोज मुक्ति “विवेक”) राष्ट्रिय संयोजक राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार